
हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको छ । तस्बिर : दाने बोहरा / रासस
काठमाडौँ । हुम्ला जिल्लाको उत्तरी भाग नाम्खा गाउँपालिकासहित विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। बिहीबार दिउँसोदेखि मौसममा बदली आएसंगै शुक्रबार हिमपात भएको हो।
सदरमुकाम सिमकोट नजिकको छोवाखोर क्षेत्र लगायत नाम्खा गाउँपालिकाका अधिकांश उच्च भूभागमा हिमपात भएको स्थानीय दशरथ रावतले जानकारी दिए । सिमकोटभन्दा तल्लो क्षेत्रमा भने वर्षा भएको उनले बताए ।
अझै केही वर्षा भए सिमकोटमा समेत हिमपात हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। हाल जिल्लाका अधिकांश उच्च क्षेत्रमा हिमपात जारी रहेको बताइएको छ।
नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार न्यालु, नारा र लाप्चा क्षेत्रमा उल्लेख्य हिमपात भएको छ भने लिमी क्षेत्रमा पनि पानीसँगै हिउँ परेको छ। हिमपातपछि चिसो निकै बढेको छ। प्रतिकूल मौसमका कारण शुक्रबार हवाई सेवा समेत अवरुद्ध भएको छ।
यता, बिहीबार बेलुकादेखि परेको वर्षाले जिल्लाभरका किसानलाई राहत पुगेको छ। सिमकोट गाउँपालिका-५ की किसान नानी रोकायाका अनुसार यस वर्षाले खेत जोत्न सहज बनाएको छ भने जौ, उवा र गहुँजस्ता बालीलाई फाइदा पुगेको छ। साथै फलफूलका बिरुवा रोप्न पनि अनुकूल वातावरण बनेको उनले बताए ।