काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको उल्लेखनीय उपस्थिति र कारोबार दुवैमा उत्साहजनक वृद्धि देखिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको यो मेला चैत ८ गतेसम्म जारी रहनेछ।
बिहिबारबाट सुरु भएको एक्स्पोको पहिलो दिन ९ हजार ५०० दर्शकले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। दोस्रो दिन शुक्रबार दर्शक संख्या बढेर १७ हजार ५०० पुगेको छ भने कारोबार २९ लाख ५० हजार रुपैयाँ पुगेको आयोजकले जनाएको छ।
यससँगै दुई दिनमा कुल २७ हजार दर्शकले मेला अवलोकन गरेका छन् भने कारोबार ५१ लाख रुपैयाँ नाघेको छ।
एक्स्पोमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारसहित कुल ८३ वटा स्टल रहेका छन्। सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा पनि राखिएको छ।
आयोजकका अनुसार यस वर्ष करिब ६० हजार दर्शकले मेला अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत चैत ६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ। लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरले यसअघि पनि रक्तदान र निःशुल्क पिउने पानी वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
