भारतमा बन्धक बनाइएकी रुकुम पश्चिमकी युवतीको उद्धार, गाउँमा खुशीयाली

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतको हिमाचल प्रदेशबाट बन्धक बनाइ घरेलु काममा लगाइएकी एक नेपाली युवतीको सफल उद्धार गरिएको छ। रुकुम पश्चिमकी २१ वर्षीया युवतीलाई कोतखाई क्षेत्रबाट सुरक्षित रूपमा उद्वार गरिएको हो।

पीडित युवतीलाई घरपरिवारसँग सम्पर्क गर्न नदिई लामो समयदेखि जबरजस्ती काममा लगाइएको थियो। उनका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा सम्पर्क गरी उद्धारको पहल गर्न आग्रह गरेपछि प्रक्रिया अघि बढाइएको थियो।

दूतावासले ‘किन इन्डिया’ संस्था तथा हिमाचल प्रदेश प्रहरीसँग समन्वय गरी उद्धार अभियान सञ्चालन गरेको हो। ‘किन इन्डिया’का प्रमुख नवीन जोशीका अनुसार ती युवती चार वर्षअघि स्याउ बगानमा काम गर्न भारत पुगेकी थिइन्। पछि बगानधनीले उनलाई आफ्नै घरमा घरेलु काममा लगाएका थिए।

घरमा काम गराउँदा पारिश्रमिक नदिइएको र परिवारसँग सम्पर्क गर्न नदिएको जानकारी पनि प्राप्त भएको छ। युवती कक्षा ११ मा अध्ययनरत रहँदा भारत पुगेकी थिइन्।

हिमाचल प्रहरी र स्थानीय बाल कल्याण समितिको सहयोगमा उनको उद्धार गरिएको हो। घटनाविरुद्ध प्रहरीमा उजुरी दिई दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ। उद्धारपछि युवती मानसिक तनावमा रहेको बताइएको छ।

हाल उनको स्वास्थ्य उपचार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ। उद्धार टोली रुकुम पुग्दा स्थानीय बासिन्दाले हर्षोल्लासका साथ स्वागत गरेका थिए।

लामो समयसम्म छोरीको अवस्था अज्ञात हुँदा पीडामा रहेका परिवारले उनलाई सकुशल फर्किएको देखेपछि गाउँभरि खुशी छाएको छ।