काठमाडौँ । कपिलवस्तु जिल्लाको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनाव उत्पन्न भएको छ। वडा नं. २ र ३ को सीमाक्षेत्रमा मुस्लिम समुदायले ईद तथा हिन्दु समुदायले नवरात्र मनाउने क्रममा असमझदारी बढ्दा झडपको अवस्था सिर्जना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्लिम समुदाय नमाज पढिरहेको समयमा हिन्दु पक्षले दुर्गा माताको पूजा गर्दै भजनको आवाज उच्च बनाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि केही व्यक्तिले भजनको आवाज घटाउन आग्रह गरेपछि दुई पक्षबीच झडप भएको बताइएको छ।
उक्त घटनामा प्रहरीसहित दुवै समुदायका एक बालकसहित ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन ७ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै स्थिति सामान्य बनाउन प्रयास गरेको बताएको छ। शान्ति सुरक्षाका लागि क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
घटना थप उग्र बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनाअनुसार दिउँसो २ बजेदेखि पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
उक्त क्षेत्रमा धार्मिक पर्वका क्रममा सुरु भएको विवाद बढ्दै गएपछि प्रशासनले यस्तो कदम चाल्न बाध्य भएको जनाएको छ।