
काठमाडौँ । पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ। शनिबार बेलुकी माथागढी गाउँपालिका-७ रहबासस्थित झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा भित्री कच्ची सडकखण्डमा लु२ख ४५२५ नम्बरको दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा शीतगङ्गा नगरपालिका-४ सिद्धारा का २६ वर्षीय चिन्ताबहादुर सुनार र सोही स्थानका २६ वर्षीय सुनिल विक रहेका छन्। त्यसैगरी देवदह नगरपालिका-२ खैरेनी का २६ वर्षीय सुनिल नेपाली तथा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदीको पनि घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
प्रारम्भिक जानकारीअनुसार टिपर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको अनुमान गरिएको छ। दुर्घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीले उद्धार कार्य सञ्चालन गरेका थिए। गम्भीर दुर्घटनाका कारण मृतकहरूको शव परीक्षणका लागि पठाइएको छ।
प्रहरीले सवारीसाधन चलाउँदा सावधानी अपनाउन सबैलाई आग्रह गर्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सम्बन्धी सचेतना आवश्यक रहेको बताएको छ।