एचडिपी पाइपमा ‘अस्वभाविक मूल्यवृद्धि’ भन्ने समाचारप्रति उत्पादक संघको ध्यानाकर्षण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एचडिपी पाइप उत्पादक संघले हाल बजारमा एचडिपी पाइपको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

संघका अनुसार विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अस्थिरता र मध्यपूर्व तथा पश्चिम एसियामा जारी भू–राजनीतिक तनावका कारण कच्चा तेलको आपूर्तिमा समस्या देखिएको छ। यसले एचडिपी पाइप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ (एचडिपी ग्रानुल्स) को ढुवानीमा समेत प्रभाव पारेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको आपूर्ति केही समयदेखि अवरुद्ध भएको छ। यसको असरस्वरूप केही उद्योगहरूमा कच्चा पदार्थको मौज्दात समाप्त भई उत्पादन नै बन्द भएको छ भने अन्य उद्योगहरू पनि बन्द हुने अवस्थामा पुगेका छन्।’

संघले बजारमा मूल्य निर्धारण माग र आपूर्तिमा आधारित हुने उल्लेख गर्दै हाल कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको जनाएको छ। इन्धन मूल्यवृद्धि र अमेरिकी डलरको विनिमय दर बढ्दा ढुवानी खर्चसमेत बढेकोले पाइपको लागतमा थप दबाब परेको संघको भनाइ छ।

यसैबीच, संघले विभिन्न खानेपानी आयोजनाहरू, गैरसरकारी संस्थाहरू, निर्माण व्यवसायी, उपभोक्ता समिति तथा स्थानीय निकायहरूसँग भएका पाइप आपूर्ति सम्झौतामा मूल्य र समयसीमा लगायतका विषयमा आपसी समझदारीका आधारमा पुनःसमायोजन गर्न आग्रह गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूलाई पनि यस्तो विषम परिस्थितिमा लचकता अपनाई उद्योगलाई सहयोग गर्न संघले अपिल गरेको छ। साथै वितरण क्षेत्रमा संलग्न व्यवसायीहरूलाई संयम र धैर्यता अपनाउन आग्रह गरिएको छ।

संघले वास्तविक कारणबाहेक अवसरको फाइदा उठाउँदै अस्वाभाविक मूल्यवृद्धि गर्ने जो-कोहीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग समेत गरेको छ । कठिन परिस्थितिमा समेत नैतिकता कायम राख्दै उद्योग सञ्चालन गर्न सदस्य उद्योगीहरूलाई संघले आह्वान गरेको छ।

सिफारिस