काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, उपमहानिर्देशक महेन्द्र सिंह रावल, निर्देशक स्वर्गीय ध्रुवदास भोछिभोया लगायतलाई पनि समावेश गरिएको छ।
यसैगरी राष्ट्रिय गौरव आयोजनाअन्तर्गत कार्यरत विभिन्न पदाधिकारीहरू-आयोजना निर्देशक प्रदीप अधिकारी र बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, उपनिर्देशक प्रवीण न्यौपाने, आयोजना प्रमुख विनेश मुनकर्मी, अधिकृत राजाराम चौधरी, उपप्रबन्धक हिमज्योती थापा, वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत तथा उपप्रबन्धक प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत तथा उपप्रबन्धक सविन फुयाललाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार उक्त प्रकरणमा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको छ। आयोगले निर्माण प्रक्रियामा अनियमितता र आर्थिक हिनामिना भएको ठहर गर्दै कानुनी कारबाही अघि बढाएको जनाएको छ।
यस मुद्दाले राष्ट्रिय गौरवका रूपमा लिइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा पारदर्शिता र उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ। अब विशेष अदालतको निर्णयले यस प्रकरणको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।