वीरगंजमा रगतको चरम अभाव, सुत्केरी र घाइतेको उपचार प्रभावित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको चरम अभाव भएपछि अस्पतालहरूमा उपचार सेवा प्रभावित हुन थालेको छ। विशेषगरी सुत्केरी महिला तथा गम्भीर चोटपटक लागेका बिरामीहरूलाई आवश्यक समयमा रगत उपलब्ध हुन नसक्दा समस्या झन् जटिल बनेको हो ।

प्रतिनिधिसभा निर्वाचनताकादेखि नै सुरु भएको रगत अभाव अहिले चरम अवस्थामा पुगेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए। उनका अनुसार हाल केन्द्रमा कुनै पनि रक्त समूहको रगत सञ्चित अवस्थामा छैन।

रगतको अभावसँगै वीरगंजका अस्पतालहरूमा बिरामीको चाप भने बढ्दो छ। पाण्डेका अनुसार दैनिक करिब डेढ सयभन्दा बढी बिरामीका आफन्तहरू विभिन्न अस्पतालबाट रगत खोज्दै केन्द्रमा पुग्ने गरेका छन्। अहिले सोधभर्ना (रिप्लेसमेन्ट) प्रणालीमार्फत मात्र रगतको अभाव टार्ने प्रयास भइरहेको छ।

सामान्य अवस्थामा बिरामीको गम्भीरता हेरेर सोधभर्नाविनै रगत उपलब्ध गराइने गरिएको भए पनि हालको अभावका कारण यस्तो व्यवस्था सम्भव नभएको उनले बताए।

लामो समयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ। नयाँ सरकार गठन नहुँदासम्म प्रभावकारी रूपमा रक्तदान कार्यक्रम सञ्चालन हुने सम्भावना कम देखिएको छ।

रगत अभावको समस्या समाधानका लागि विभिन्न संघसंस्थाहरूलाई सक्रिय रूपमा रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको छ। यसले संकटका बेला रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

वीरगंजका अस्पतालहरूमा पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने भएकाले रगतको माग अत्यधिक रहेको छ।