काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा शनिवारदेखि हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ। मुस्लिम समुदायले ईद र हिन्दु समुदायले नवरात्र मनाउने क्रममा विवाद बढ्दै गएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) अनुसार जारी गरिएको आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, भेला, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। निषेधाज्ञा लागू गरिएको क्षेत्रभित्र पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाट पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय समेटिएका छन्।
प्रमुख जिल्ला अधिकारी गौतमले आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
यस घटनामा कुल २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घाइतेमध्ये नेपाल प्रहरीका एक निरीक्षकसहित ११ जना, सशस्त्र प्रहरीका ६ जना र प्रदर्शनकारीतर्फ ६ जना रहेका छन्।
झडपका क्रममा चार जनालाई गोली लागेको समेत जनाइएको छ। घाइतेमध्ये चार जनाको भैरहवा, एक जनाको भरतपुर र अर्का एक जनाको बहादुरगन्ज अस्पतालमा उपचार भइरहेको छ।
घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले हालसम्म नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।