काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार कुल १४ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढीको व्यापार हुँदा १० खर्ब ९८ अर्ब रुपैयाँ घाटा भएको हो।
यस अवधिमा नेपालले १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसँग तुलना गर्दा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढेको देखिएको छ।
व्यापार घाटामा छिमेकी मुलुक भारतसँगको हिस्सा सबैभन्दा ठूलो छ। आठ महिनामा भारतसँग मात्र ५ खर्ब ६७ अर्ब रुपैयाँ घाटा भएको छ। यस अवधिमा भारतबाट ७ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ।
चीनसँग पनि व्यापार घाटा उच्च देखिएको छ। चीनबाट २ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा करिब ९८ करोड रुपैयाँ मात्रै निर्यात भएको छ, जसले २ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी घाटा निम्त्याएको छ। अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि नेपालले उल्लेख्य व्यापार घाटा बेहोरेको छ।
यता, रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यासँग भने नेपालले व्यापार नाफा कमाएको छ। विशेषगरी रोमानियासँग ५० करोड रुपैयाँभन्दा बढी नाफा देखिएको छ।
आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ। डिजेल, पेट्रोल र एलपी ग्यासमा मात्रै ठूलो रकम बाहिरिएको छ। साथै कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य वस्तु, सुन र चाँदी पनि उच्च आयात हुने वस्तुमा परेका छन्।
निर्याततर्फ भने भटमास तेल प्रमुख वस्तु बनेको छ, जसको निर्यात करिब ७५ अर्ब रुपैयाँ पुगेको छ। यसबाहेक अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल पनि मुख्य निर्यात वस्तुका रूपमा रहेका छन्।