काठमाडौँ । तिनाउ खोलामा दुई जना भारतीय पर्यटक डुबेर बेपत्ता भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइड नजिकै उनीहरु बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनीहरु पाँच जनाको समूहमा आएका थिए । त मध्ये दुई जना पुरुष खोलामा डुबेर बेपत्ता भएका थिए । घटनापछि उनीहरूको खोजी कार्य तीव्र पारिएको बताइएको छ।
स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरी अन्तर्गत दोभान प्रहरी चौकीको टोली घटनास्थलमा खटिई खोजी कार्य जारी राखेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार बेपत्ता हुनेहरूको नाम, ठेगाना तथा अन्य विस्तृत विवरण खुल्न बाँकी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।