म्याग्दीमा ‘रुखबाट लडेर मृत्यु’ भनिएको घटना एक महिनापछि हत्यामा प्रमाणित

दियोपोस्ट संवाददाता

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाका २४ वर्षीय सौरव विकको मृत्यु सुरुमा रुखबाट लडेर भएको भनिए पनि प्रहरीले अनुसन्धानपछि उक्त घटना हत्या भएको पुष्टि गरेको छ।

शव परीक्षण प्रतिवेदन र विस्तृत अनुसन्धानका आधारमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादले हिंसात्मक रूप लिँदा घटना भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार फागुन ७ गते सौरव विक घाँस काट्ने क्रममा घरदेखि करिब ९ किलोमिटर टाढा गैयाभाट जंगलमा रुखबाट लडेर घाइते भएको जानकारी आएको थियो। उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी हुँदै गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो। चिकित्सकले बाँच्ने सम्भावना न्यून रहेको बताएपछि घर फर्काइएका विकको त्यसपछि मृत्यु भएको थियो।

घटनाको प्रारम्भिक अवस्थालाई ध्यानमा राख्दै परिवारसँगको सहमतिमा “रुखबाट लडेर मृत्यु” शीर्षकमा जाहेरी दर्ता गरिएको थियो। तर पोष्टमार्टम रिपोर्टमा टाउकोमा गम्भीर चोट देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा एक महिनापछि प्रकाश विकले सौरवको हत्या गरेको तथ्य बाहिर आएको प्रहरीको भनाइ छ। चैत ३ गते मृतकका आफन्तहरूलाई बोलाएर सोधपुछ गर्दा घटनास्थलमा सोहन विक, प्रकाश विक र सुभम् विकबीच झगडा र कुटपिट भएको खुल्न आएको थियो।

प्रहरीका अनुसार शनिबार पक्राउ परेका प्रकाश विकले प्रारम्भिक बयानमै मदिरा सेवनपछि भएको विवादकै कारण हत्या गरेको स्वीकार गरेका छन्। साथै पारिवारिक सम्बन्धका कारण घटना लुकाउने प्रयास गरिएको समेत देखिएको छ।

उक्त घटनामा ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रकाश विकलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस