काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार मात्रै १२ हजार ५ सय रुपैयाँले घटेको सुनको मुल्यमा छोटो समयमै ठूलो गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन भने २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्दा एक साताको अवधिमा मात्र सुनको मूल्य ३४ हजार रुपैयाँले घटेको छ।
गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनले पनि सुनको मूल्यमा असर परेको देखिन्छ। पश्चिम एसियाली क्षेत्रमा बढेको द्वन्द्वका कारण तेलको मूल्य वृद्धि भएको छ, जसले विभिन्न देशहरूलाई थप अमेरिकी डलर आवश्यक पर्ने अवस्था सिर्जना गरेको छ। डलरको माग बढ्दै जाँदा यसको मूल्य पनि बढेको छ। सुन बेचेर डलर व्यवस्थापन गर्ने प्रवृत्ति बढ्दा सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
त्यस्तै, तेलको मूल्य बढेसँगै विश्वव्यापी रूपमा महँगी चुलिएको छ र ब्याजदर बढाउने दबाब पनि बढेको छ। यसले सुनचाँदी जस्ता धातुको मूल्यमा थप दबाब सिर्जना गरेको छ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ।