काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको साझा संगठन प्रेस सेन्टर नेपाल रुपन्देहीमा आवद्ध सात जना पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष भुवन कार्की, पूर्व केन्द्रीय सदस्य तथा अनुशासन विभाग संयोजक गुनाराम घिमिरे, पूर्व जिल्ला उपाध्यक्ष सारदा शाही, पूर्व जिल्ला सदस्य मोहन न्यौपाने, जिल्ला सह-सचिव कल्पना घिमिरे, प्रकाश पाण्डे र जिल्ला सदस्य नेत्र रुचाल रहेका छन्।
उनीहरूले संयुक्त रूपमा दिएको राजीनामामा अब उपरान्त स्वतन्त्र रूपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहने उल्लेख गरेका छन्। साथै, संगठनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको स्पष्ट पारेका छन्।
राजीनामाको कारणबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि संगठनभित्रको आन्तरिक असन्तुष्टि र कार्यशैलीप्रतिको असहमति यसको प्रमुख कारण हुन सक्ने अनुमान गरिएको छ।
यस घटनाले रुपन्देहीमा क्रियाशील पत्रकार संगठनहरूको गतिविधि र समन्वयमा केही प्रभाव पार्ने देखिएको छ। प्रेस सेन्टर नेपाल रुपन्देहीले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।
