रौतहट । रौतहटमा १७ वर्षीय एक किशोरको हत्या गरिएको छ । राजपुर नगरपालिका-२ घर भई हाल गुजरा नगरपालिका-८ देवीपुर जोगौलिया टोलमा बस्दै आएका मोहम्मद एकरामुल हक मृत अवस्थामा फेला परेका हुन्।
मृतकका बुबा शेख जमिल अख्तरले छोरालाई घरबाट बोलाएर लगिएको र योजनाबद्ध रूपमा यही चैत ४ गते राति हत्या गरिएको आरोप लगाए । उनले छिमेकीले नै छोराको हत्या गरी शव आफ्नै घरमा लुकाएर राखेको गम्भीर आरोप लगाएका छन्।
‘मेरो छोरालाई घरबाटै बोलाएर लगियो र हत्या गरियो, त्यसपछि शव लुकाउन छिमेकीकै घरमा राखिएको थियो,’ उनले बताए।
घटना भएको पाँच दिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएका आरोपीहरू पक्राउ नपरेको भन्दै पीडित परिवार आक्रोशित बनेको छ। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले पनि निष्पक्ष अनुसन्धानमार्फत पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्। यसैबीच प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लावुङ्गले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याइने बताए। उनले पोष्टमार्टम रिपोर्ट नआउँदासम्म विस्तृत जानकारी दिन नसकिने पनि स्पष्ट पारे।
हालसम्म आरोपी पक्राउ नपर्दा पीडित परिवार थप पीडामा परेको छ। यस घटनाले स्थानीय समुदायमा सुरक्षा र न्यायप्रति गम्भीर प्रश्न खडा गरेको छ।