
काठमाडौँ । पाल्पास्थित तिनाउ नदीमा आइतबारदेखि हराइरहेका दुई भारतीय मध्ये एक जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार आज बिहान घटनास्थलबाट करिब १०० मिटर तल नदीबाट उनको शव फेला परेको हो ।
मृतक भारतको उत्तर प्रदेशस्थित मेधावल ठाकुरद्वार नगर पञ्चायत-१८, सन्तकबिर नगरका १७ वर्षीय अमन अन्सारी रहेको प्रहरीले जनाएको छ । सोही स्थानका फहरान अन्सारी अझै बेपत्ता रहेको र उनको खोजतलाज जारी रहेको बताइएको छ ।
आइतबार नदीमा नुहाउने क्रममा दुबै जना डुबेर बेपत्ता भएका थिए । हराइरहेका फहरान अन्सारीको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।
घुम्न आएका अन्य व्यक्तिहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले खोलानदीमा नुहाउँदा सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा प्रवेश नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।