नेपालगन्ज । नेपालस्थित अमेरिकी दूतावासले देशभरका उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशीलता सीप विकास कार्यक्रम नेपालगन्जबाट औपचारिक रूपमा सुरु गरेको छ। यो कार्यक्रम इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको सहकार्यमा सञ्चालन गरिएको हो।
यस पहलले प्रारम्भिक चरणमा रहेका उद्यमीहरूलाई दिगो व्यवसाय स्थापना, लगानी आकर्षण तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
कार्यक्रम लुम्बिनी प्रदेशको नेपालगन्जबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरासहित देशका विभिन्न सहरमा सञ्चालन गरिनेछ। सातै प्रदेशका करिब २०० उद्यमीहरू प्रत्यक्ष कार्यशाला र भर्चुअल बुटक्याम्पमार्फत सहभागी हुने बताइएको छ ।
तालिम सत्रहरूमा व्यवसायका आधारभूत पक्ष, बजार परीक्षण, लगानीकर्तासँग प्रभावकारी संवाद, डिजिटल मार्केटिङ तथा निर्यात तयारीजस्ता विषयहरूमा केन्द्रित प्रशिक्षण दिइने छ। यसले उद्यमीहरूलाई आफ्ना नवीन सोचलाई रोजगारी सिर्जना गर्ने र व्यवसाय विस्तार गर्ने सक्षम उद्यममा रूपान्तरण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करका अनुसार, आर्थिक वृद्धि र नवप्रवर्तनका लागि उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रममार्फत नेपाली उद्यमीहरूलाई बजारअनुकूल व्यवसाय विकास गर्न सहयोग पुग्ने बिश्वास लिइएको छ । निजी क्षेत्रलाई सुदृढ बनाउनुका साथै नेपाल–अमेरिका व्यापारिक सहकार्यलाई थप विस्तार गर्नेछ।
यो कार्यक्रम अमेरिका-नेपाल वाणिज्य कूटनीति पहलअन्तर्गत सञ्चालन गरिएको हो, जसले उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ बनाउन मद्दत पुर्याउँछ। साथै, यसले सहभागीहरूलाई सल्लाहकार, लगानीकर्ता र औद्योगिक विज्ञहरूसँग जोड्दै व्यवसाय विस्तारका अवसरहरू सिर्जना गर्नेछ।
नेपालभर उद्यमशीलतामा पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यो कार्यक्रमले नवप्रवर्तनको वातावरण सुदृढ पार्दै नेपाल-अमेरिका आर्थिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
