काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले यस वर्ष पनि ‘ग्लोबल मनी वीक-२०२६’ को अवसर पारेर देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत २ देखि चैत ८ गतेसम्म सञ्चालन गरेको उक्त अभियानअन्तर्गत सातै प्रदेशमा कार्यक्रम आयोजना गरिएको जनाएको छ।
बैंकका अनुसार आफ्ना शाखा सञ्जालमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ३ हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गरिएको छ। कार्यक्रममा सहभागी केही विद्यार्थीहरूलाई बैंकका शाखा अवलोकन गराई बैंकिङ सेवाबारे व्यावहारिक जानकारी समेत दिइएको थियो।
‘सेभ टुडे फर अ बेटर टुमरो’ भन्ने नारासहित सञ्चालन गरिएका कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकास, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाहरू प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको बैंकले जनाएको छ।
हाल एभरेष्ट बैंकका करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ सङ्कलन केन्द्रमार्फत पनि सेवा दिँदै आएको छ।
बैंकले भारतको नयाँ दिल्ली लगायत विभिन्न देशहरूमा प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गरेको जनाएको छ।