रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा मङ्गलबार सुनुवाइ हुने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध लगाइएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको संशोधित निर्णयविरुद्ध परेको रिट निवेदनमा अब मङ्गलबार पुनः सुनुवाइ हुने भएको छ।

सोमबार सर्वोच्च अदालतमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्दै अर्को दिनका लागि सारिएको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमान को संयुक्त इजलासमा सुनुवाइ जारी रहँदा समय अभावका कारण निर्णय हुन नसकेको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए ।

यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णय अदालतमा पेस गर्न आदेश दिएको थियो, जसअनुसार उक्त मुद्दा आजका लागि पेसीमा राखिएको थियो।

त्यसअघि नै न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलले चैत १ गतेदेखि नियमित सुनुवाइका लागि प्रक्रिया अघि बढाउने आदेश दिएका थिए।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारका पालामा लामिछानेविरुद्ध दायर भएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।

सिफारिस