काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन्। सोमबार विशेष अदालतमा उपस्थित भएका आचार्यलाई न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार तोकिएको धरौटी रकम बुझाएपछि आचार्य रिहा भइसकेका छन्। उनीहरुसंग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको र सो रकम बुझाएर रिहा गरिएको उनले जानकारी दिए।
आचार्य पर्यटनमन्त्री रहेका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत अस्वाभाविक रूपमा बढाएर अनियमितता गरिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ। यस सम्बन्धमा अख्तियारले गत मंसिर २१ गते आचार्यसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।