काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्ध उजुरी दिने व्यक्ति नै अर्को सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा पोखराका कृष्णप्रसाद जैसी पक्राउ परेका हुन् ।
जैसीले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जीवी राई र रवि लामिछाने लगायतविरुद्ध जाहेरी दर्ता गरेका थिए । प्रहरीका अनुसार, धनुष सहकारीमा करिब १२ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ।
वित्तीय विश्लेषक निर्मल गौतमद्वारा तयार गरिएको प्रतिवेदनका आधारमा सहकारी रजिस्ट्रार कार्यालयले थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको जनाएको छ।
जैसीलाई उक्त सहकारी ठगी प्रकरणको ‘मुख्य योजनाकार’का रूपमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने विरुद्ध परेको उजुरीमाथि पनि अनुसन्धान जारी रहेको छ। यद्यपि, उजुरीकर्तानै ठगी आरोपमा पक्राउ परेपछि उक्त मुद्दाको विश्वसनीयता र पृष्ठभूमिबारे थप बहस सुरु भएको छ।
प्रहरीले दुवै प्रकरणलाई छुट्टाछुट्टै तर आपसमा सम्बन्धित हुनसक्ने कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।