काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २४ सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। आगामी चैत १२ गते दिउँसो २ बजेका लागि तोकिएको शपथ कार्यक्रममा उनीहरूले मातृभाषामै शपथ लिने जानकारी संसद सचिवालयलाई गराएका हुन्।
संसद सचिवालयका अनुसार विभिन्न भाषिक समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आफ्नो पहिचान र भाषिक विविधतालाई सम्मान गर्दै मातृभाषामा शपथ लिने निर्णय गरेका हुन्।
तामाङ भाषामा परशुराम तामाङले शपथ लिनेछन् भने नेपाल भाषा (नेवारी)मा अनुष्का श्रेष्ठ, कृष्णभक्त शाक्य, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रञ्जित र विराजभक्त श्रेष्ठले शपथ लिनेछन्।
डोटेली भाषामा आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले शपथ लिने कार्यक्रम छ।
मैथिली भाषामा उज्जवलकुमार झा, दीपककुमार साह (महोत्तरी), दीपककुमार साह (सुनसरी), प्रमोदकुमार महतो, मातृका यादव र सीताराम साहले शपथ लिनेछन्।
भोजपुरी भाषामा कन्हैया बनियाले शपथ लिनेछन् भने थारु भाषामा गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले शपथ लिनेछन्।
यसैगरी, राना थारु भाषामा कृपाराम राना, संस्कृत भाषामा खुश्बु ओली, मगही भाषामा जोगकुमार यादव, अवधी भाषामा मोहम्मद इस्तियाक राई तथा वान्तावा भाषामा ध्रुवराज राईले शपथ लिने जानकारी गराइएको छ।
नेपालको संविधानले भाषिक विविधतालाई सम्मान गर्दै प्रत्येक नागरिकलाई आफ्नो मातृभाषा प्रयोग गर्ने अधिकार सुनिश्चित गरेको छ। यसै अनुरूप सांसदहरूले मातृभाषामा शपथ लिने क्रमलाई सकारात्मक रूपमा हेरिएको छ।