दमकमा बर्डफ्लु संक्रमण पुष्टि, २५ हजार कुखुरा नष्ट गरिँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । झापाको दमक नगरपालिका-१० मा रहेको दमक एग्रिकल्चर फार्म प्रा.लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ। संक्रमण फैलिन नदिन प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित फार्म वरपर २० मिटर क्षेत्रलाई निषेधित घोषणा गरिएको छ। सो क्षेत्रमा विज्ञ पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा रोक लगाइएको छ।

संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा बन्द गरिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेकोमा अस्वाभाविक रूपमा कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको सञ्चालक देवेन्द्र प्रसाईले जानकारी दिए।

हाल फार्मका २० हजार र नजिकैको अर्को फार्मका ५ हजार गरी करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। साथै, शंकास्पद तथा मृत कुखुराको नमुना परीक्षण पनि जारी रहेको छ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरी संक्रमित कुखुरा नष्ट गर्ने तथा नियन्त्रणका उपायहरू कार्यान्वयन भइरहेको छ। उनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

प्राविधिक टोलीले खाडल खनेर कुखुरा, दाना र अण्डा सुरक्षित रूपमा नष्ट गर्ने प्रक्रिया सुरु गरेको छ। भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख सितल भट्टराईका अनुसार तीन वटा द्रुत प्रतिक्रिया टोली यस कार्यमा परिचालित छन्।

बर्डफ्लु पुष्टि भएसँगै फार्मबाट कुखुरा र अण्डा बिक्री तत्काल रोकिएको थियो। शनिबार र आइतबार गरिएको प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

यस घटनापछि स्थानीय बजारमा कुखुरा तथा अण्डाको बिक्री घटेको छ। उपभोक्तामा त्रास फैलिँदा व्यापार प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। यद्यपि, कुखुराजन्य परिकार राम्ररी पकाएर सेवन गर्दा मानिसमा संक्रमणको जोखिम न्यून हुने विज्ञहरूले बताएका छन्।

कुखुरा उत्पादक भरत चम्लागाईले यस क्षेत्रमा ठूलो लगानी रहेको उल्लेख गर्दै अनावश्यक भ्रम हटाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।