राजकुमार बिकको एकल चित्रकला प्रदर्शनः क्यानभासमा सामाजिक विद्रोह र कलाको फ्युजन

दियोपोस्ट संवाददाता  

काठमाडौं । कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी समन्वय समितिको सहकार्यमा आयोजना गरिएको उक्त प्रदर्शनी चैत्र ७ देखि १० गतेसम्म नक्सालस्थित प्रतिष्ठानको चन्द्रमनसिंह मास्के प्रदर्शनी हलमा सम्पन्न गरिएको हो ।

चार दिनसम्म चलेको प्रदर्शनीमा बिकका ३५ वटा चित्रहरू प्रस्तुत गरिएको थियो। सानैदेखि चित्रकलामा गहिरो रुचि राख्दै आएका उनले औपचारिक कला शिक्षा बिना नै निरन्तर सिर्जनात्मक अभ्यासमार्फत आफूलाई स्थापित चित्रकारका रूपमा परिचित गराएका छन्।

उनका चित्रहरूमा जातीय विभेद, असमान सामाजिक संरचना, प्रकृति, आन्दोलन, इतिहास, धर्म र संस्कृतिको सशक्त समिश्रण देख्न सकिन्छ। विशेषगरी शोषित तथा उत्पीडित समुदायका अनुभूति र कथालाई उनले रङ र ब्रसमार्फत क्यानभासमा जीवन्त बनाएका छन्।

यस प्रदर्शनीमार्फत उनले श्रमचेतना, सामाजिक जागरण र सचेतनाका विषयलाई प्रभावकारी रूपमा उठान गरेका छन्। शिल्पी समुदायले समाजमा पुर्‍याएको योगदान र उनीहरूले भोग्दै आएको पीडालाई संवेदनशील ढङ्गले अभिव्यक्त गर्दै बिकले आफ्ना सिर्जनामार्फत सहअस्तित्व, समानता र पारस्परिक सम्मानको खोजीमा सबै समुदायलाई आत्ममन्थन गर्न आग्रह गरेका छन्।

प्रदर्शनीबारे नारदमणि हार्तम्छलीले चित्रकार बिकलाई ‘भुईँफुट्टा चित्रकार’को संज्ञा दिँदै उनका कृतिमा मानवबीचको हेला, होच्याइँ र छुवाछुतविरुद्धको अनुभूतिगत सन्देश स्पष्ट रूपमा अभिव्यक्त भएको उल्लेख गरे।

उनले जातीय विभेदलाई ‘कन्टेन्ट कन्सेप्ट’का रूपमा प्रस्तुत गर्दै कलात्मक तथा सामाजिक-सांस्कृतिक रूपान्तरणको विद्रोही अभियान चित्रमार्फत अघि बढाइएको बताए।

उनका अनुसार यस्ता विषयवस्तुमा केन्द्रित एकल चित्रकला प्रदर्शनी प्रतिष्ठानमा विरलै हुने भएकाले यो कार्यक्रम समसामयिक र उदाहरणीय रहेको छ। सरकारी निकायले यस्ता संवेदनशील विषयमा ध्यान दिँदै सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

समग्रमा, कलाकार बिकका कृतिहरूमा भावुकताको पक्ष बलियो देखिए पनि बौद्धिक र प्राज्ञिक पक्षमा अझ गहिराइ ल्याउन सकिने उनको सुझाव छ। तथापि, उनको जीवन अनुभव र कलात्मक यात्राको सापेक्षतामा यो प्रदर्शनी सफल र अर्थपूर्ण प्रयासका रूपमा मूल्याङ्कन गरिएको छ।