
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी साबित्रा भण्डारी (साम्बा) को न्युजिल्यान्डमा सफल घुँडाको शल्यक्रिया गरिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अपरेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी हुन्।
साम्बाका अनुसार बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेका हुन्। लामो समयको प्रतीक्षापछि शल्यक्रिया सम्पन्न भएको भन्दै उनले खुशी व्यक्त गरेकी छन्।
खाडी क्षेत्रमा हालको असहज परिस्थितिका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि चिकित्सकहरूको सुझावमा न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञमार्फत शल्यक्रिया गरिएको उनले बताइन्।
अब उनको पुनर्स्थापन (रिह्याब) प्रक्रिया डाक्टरको निगरानीमा सुरु हुनेछ। स्वास्थ्य अवस्था सामान्य भएसँगै पुनः एस्पेटारमै रिह्याबलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिएकी छन्।
शल्यक्रियाको क्रममा सहयोग गर्ने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै, आफ्नो क्लब Wellington Phoenix FC र व्यवस्थापन टोलीले शल्यक्रियाको व्यवस्था मिलाउन ठूलो भूमिका खेलेको उल्लेख गरेकी छन्।
समर्थकहरूबाट प्राप्त माया र ऊर्जाले आफूलाई पुनरागमनका लागि प्रेरणा मिलेको बताउँदै उनले अब सम्पूर्ण ध्यान मैदानमा फर्किने लक्ष्यमा केन्द्रित हुने बताएकी छन्।