मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान, अवसरबाट वञ्चित विद्यार्थीलाई सहयोग

दियोपोस्ट संवाददाता  

काठमाडौं, चैत १२ । मुक्तिनाथ विकास बैंक ले ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ। बैंकका अनुसार अवसरको झोला मार्फत ती बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने विश्वासका साथ सहयोग प्रदान गरिएको हो।

हरेक बालबालिकामा सपना हुने तर ती सपना पूरा गर्न समान अवसर नहुने यथार्थलाई मध्यनजर गर्दै बैंकले उक्त अभियान अघि बढाएको जनाएको छ।
कार्यक्रममा झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा देखिएको खुशीले उनीहरूमा आत्मविश्वास र ‘अब म पनि सक्छु’ भन्ने भावना झल्किएको बैंकले जनाएको छ।

अभियान अन्तर्गत विद्यालय पोशाक वितरण गर्नुका साथै मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको लगनशीलताको कदर गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै बैंकले हालसम्म सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय झोला वितरण गरिसकेको जानकारी दिएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्ग ले यस्ता पहलहरूले समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।