कम्बोडियामा अनलाइन ठगीमा संलग्न ५१ नेपालीको उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौं । कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा फसाइएका ५१ जना नेपाली नागरिकको उद्धार गरिएको छ। विभिन्न प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र कम्बोडिया सरकारको सहकार्यमा बुधबार सुरक्षित रूपमा नेपाल फर्काइएको हो।

उद्धार गरिएका नेपालीहरूलाई अनलाइन ठगीसहित विभिन्न गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको थियो। उनीहरू धेरैजसो बिना राहदानी वा राहदानीको म्याद सकिएपछि पनि त्यहाँ बसिरहेको बताइएको छ । दूतावासका अनुसार, कम्बोडियामा नेपाली नागरिकहरूलाई अवैध कार्यमा लगाइएको र कागजातविहीन रूपमा बसिरहेको सूचना प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको हो।

अहिले पनि कम्बोडियामा अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउने प्रयास जारी रहेको जनाइएको छ। त्यस्तै, अवैध रूपमा बसिरहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि बैंककस्थित नेपाली राजदूतावास वा गैर–आवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्क्यामिङ केन्द्रमा काम गराइएका धेरैको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने समस्या देखिएको गुनासो आएको छ। यस्तो अवस्थामा नेपाल फर्कन चाहनेहरूलाई बैंककस्थित नेपाली राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको जनाएको छ।

 

सम्बन्धित खबर

सिफारिस