काठमाडौं । आज नवनिर्वाचित सांसदहरूका लागि सिंहदरबारस्थित संसद्हरुले अस्थायी भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ समारोहका क्रममा पूर्व सहयोद्धा प्रचण्ड र रामबहादुर थापा बादल एउटै स्थानमा सँगै देखिए ।
जनयुद्धकालीन सहयोद्धा रहेका यी दुई नेता लामो समयपछि एउटै स्थानमा सँगै देखिए, तर फरक-फरक राजनीतिक दलको प्रतिनिधित्व गर्दै। प्रचण्ड हाल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक हुन् भने बादल नेकपा (एमाले) का उपाध्यक्ष हुन्।
नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्ड र बादलको सम्बन्ध लामो र उतारचढावपूर्ण रहँदै आएको छ। उनीहरू दुवै जनयुद्धका मुख्य पात्र थिए। २०७५ सालमा माओवादी केन्द्र र एमालेबीच एकीकरण भई नेकपा बनेपछि उनीहरू पुनः एउटै दलमा आएका थिए।
तर पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र राजनीतिक मतभेदका कारण उक्त एकता लामो समय टिक्न सकेन। विभाजनपछि बादल एमाले अध्यक्ष केपी ओलीसँग नजिकिए र माओवादी केन्द्र छाडे। त्यसयता उनले प्रचण्डको खुलेर आलोचना गर्दै आएका थिए।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले अनपेक्षित हार ब्यहोरेपछि बादल समानुपातिक प्रणालीबाट संसदमा प्रवेश गरेका थिए । आजको शपथ समारोहमा प्रचण्ड र बादल सँगै देखिए पनि उनीहरूबीच कुनै संवाद भएन। एउटै पंक्तिमा उपस्थित हुँदा पनि औपचारिक अभिवादनसमेत नगरेको दृश्यले उनीहरूबीचको सम्बन्ध अझै सहज नभएको संकेत गरेको छ ।
उनीहरुबीचको व्यक्तिगत सम्बन्ध र राजनीतिक धारबीचको द्वन्द्व अझै समाप्त भइनसकेको प्रष्ट देखिन्छ । प्रचण्ड र बादलबीचको सम्बन्ध नेपालका कम्युनिष्ट राजनीतिमा महत्वपूर्ण मानिन्छ। उनीहरूबीचको दूरी घट्छ कि अझ बढ्छ भन्ने विषय आगामी राजनीतिक समीकरण र सहकार्यमा निर्भर रहने देखिन्छ। हालका लागि भने शपथ समारोहले उनीहरूबीचको चिसोपन अझै कायमै रहेको सन्देश दिएको छ।