काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार दिउँसो १२ः३२ बजे शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासस्थित राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथका लागि आवश्यक शुभसाइत बालेनले पूर्वमै राष्ट्रपति कार्यालयमा पठाएका थिए। यसपटकको शपथ ग्रहण कार्यक्रममा बालेनले केही नयाँ अभ्यास प्रस्तुत गरेका छन्। विगतमा औपचारिक शपथमा सीमित रहने कार्यक्रमलाई फरक बनाउँदै उनले वैदिक परम्परालाई समेत समेटेका थिए। शपथअघि सातवटा शंख एकसाथ बजाइएको थियो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइएको थियो। साथै, १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ पनि गरिएको थियो।
योग र अध्यात्म अनुसार मानव शरीरमा रहेका सात प्रमुख ऊर्जा केन्द्र ९चक्र० हरूलाई शंखको ध्वनिबाट उत्पन्न कम्पनले सक्रिय र सन्तुलित बनाउने विश्वास गरिन्छ। यही मान्यतालाई ध्यानमा राख्दै शपथ कार्यक्रममा यस्ता धार्मिक विधिहरू समावेश गरिएको जनाइएको छ।