
काठमाडौँ । विवादित निर्णयका कारण चर्चामा आएकी महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन्। उनले शुक्रबार नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन्।
भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्। यता, प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल बाट नियुक्ति तथा पद तथा गोपनीयताको शपथ लिएका थिए।
नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै आफूलाई नियुक्त गर्ने सरकार बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै भण्डारीले पदबाट राजीनामा दिएकी हुन्। उनी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल भएकी थिइन्।
आफ्नो कार्यकालका क्रममा भण्डारी केही निर्णयका कारण विवादमा परेकी थिइन्। विशेषगरी उच्च प्रोफाइलका भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा अभियोजन प्रक्रिया अघि नबढाएको, सरकार पक्षलाई प्राथमिकता दिएको आरोप लाग्ने गरी कानुनी राय दिएको तथा संवेदनशील राजनीतिक मुद्दाहरूमा निष्पक्षता कायम गर्न नसकेको भन्दै आलोचना भएको थियो। यसका साथै केही सरकारी निर्णयहरूको बचाउ गर्ने क्रममा उनको भूमिकामाथि प्रश्न उठेको थियो।
यस्ता विवादका बीच भण्डारीको राजीनामासँगै महान्यायाधिवक्ताको पद रिक्त भएको छ। नयाँ सरकारबाट उक्त पदमा छिट्टै नयाँ नियुक्ति हुने अपेक्षा गरिएको छ।