मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा बाल्यकालको अभाव सम्झिँदै ‘भावुक’ बनिन् सीता वादी

दियोपोस्ट संवाददाता

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा शपथ ग्रहण गरेकी सुर्खेतकी सीता वादी आज निकै भावुक बनिन्। मन्त्री पद सम्हाल्दै गर्दा उनले आँसु रोक्न सकिनन् र कुर्सीमा बसेर निकै बेर रोइन्।

२९ वर्षीय सीता वादी झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी महिला हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिइन्। मन्त्री बनेसँगै पहिलोपटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ।

दलित समुदायभित्र पनि अत्यन्तै पीँधमा पारिएको वादी समुदाय अहिले पनि राज्यको मुल प्रवाहमा आउन सकेको छैन । अभाव, गरिबी, जातीय बिभेद र तिरस्कारको पहाड छिचोल्दै सीता पहिलो पटक आफ्नो समुदायको प्रतिनिधित्व गर्दै मन्त्री बनेकी छन् । त्यसैले पनि यो ऐतिहासिक क्षणमा उनले आँसु थाम्न सकिनन् ।

सीताको बाल्यकाल गरिबी, अभमव र सामाजिक भेदभावबीच बित्यो। २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी उनले छुवाछूत र बहिष्कारको गहिरो अनुभव गर्नुपर्‍यो। १२ वर्षको उमेरमा सामाजिक संस्थाको सहयोगले विद्यालय जाने अवसर पाएकी उनी पढाइ र हातमुख जोड्ने संघर्षका बीच शिक्षालाई अगाडि बढाउन सफल भइन्।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी सीता भन्छिन्, ‘मैले राजनीतिशास्त्र पढ्नु संयोग थिएन, यो मेरो समुदायको अस्तित्व खोज्ने प्रयास थियो।’

पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहेकी उनले आफ्नो समुदायको उत्थान र विकासका लागि सडकबाट आवाज उठाउँदै सांसद बनेकी हुन्। मन्त्री पद सम्हाल्दै गर्दा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनको आँसु, संघर्ष र उपलब्धिको प्रतीक बनेको छ, जसले सीमान्तकृत समुदायका लागि नयाँ आशा र प्रेरणा दिइरहेको छ।

सम्बन्धित खबर

सिफारिस