काठमाडौं । संयुक्त नागरिक पार्टीले बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। नेपाली राजनीतिक इतिहासमा मधेसी मूलबाट पहिलोपटक प्रमुख कार्यकारी पदमा पुगेको उल्लेख गर्दै पार्टीले यसलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेको छ।
पार्टीका अध्यक्ष दल मर्दन कामीले लामो समयदेखि सीमित सोच र एकल संरचनामा केन्द्रित रहँदै आएको राज्यसत्तामा अब नयाँ नेतृत्वको प्रवेश भएको बताएका छन्। उनले शाहको नेतृत्वले समावेशी लोकतन्त्र, सुशासन र नागरिक अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै यसलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्।
विज्ञप्तिमा नेपालको शासन प्रणालीले विगतमा आम नागरिकका अधिकार, न्याय र सांस्कृतिक विविधतालाई अपेक्षित सम्मान दिन नसकेको अनुभव स्मरण गराइएको छ। अब प्रधानमन्त्री शाहको नेतृत्वमा यी कमजोरीहरू सुधार हुने र नयाँ उदाहरण स्थापित हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, तीन दशक लामो लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका अस्थिरता, अहंकारी शासन शैली र व्यवस्थागत समस्याहरू अन्त्य गरी जनअपेक्षाअनुसार शासन सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
पार्टीले विशेष गरी गरिब, सुकुम्बासी, भूमिहीन, उत्पीडित तथा सीमान्तकृत समुदायको न्यायोचित व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। साथै, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधताको सम्मान गर्दै समान न्याय सुनिश्चित गर्न प्रधानमन्त्री शाहको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।