शनिबार पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखक अदालतमा उपस्थित

दियोपोस्ट संवाददाता

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक लाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रहरीले शनिबार पक्राउ परेका लेखकलाई सार्वजनिक बिदाका कारण सोही दिन अदालतमा पेश गर्न नसकिएको र आइतबार मात्रै अदालतमा उपस्थित गराइएको जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालयमार्फत उनलाई अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप माग गरिएको छ।

लेखकलाई गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मी परिचालन गरी दमन गरेको आरोप लागेको छ। उक्त आन्दोलन हिंसात्मक बन्दा ठूलो मानवीय क्षति भएको भन्दै घटनाको छानबिनका लागि गठन गरिएको आयोगले तत्कालीन सरकारका उच्च पदाधिकारीलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

उक्त सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले लेखकलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ।

यसै प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको जनाइएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा उच्च तहका राजनीतिक नेतृत्वमाथि कारबाही अघि बढेसँगै देशको राजनीतिक अवस्था थप तरंगित बनेको छ।

सम्बन्धित खबर