शुद्धोधन गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले अध्यक्ष चौधरीसहित राजेश्वर चौधरी र सन्तकुमार यादवलाई प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको हो।

उनीहरुले स्थानीय नाम परिवर्तित ‘भैरहवा १५’ लाई सामुहिक बलात्कार गरेको आरोप छ । पीडित युवती भैरहवा-१५ ले २०८१ असोज ५ गते आफुमाथि भएको सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । उजुरीपछि अनुसन्धान अगाडि बढाइएको थियो।

कपिलवस्तु घर भई बुटवल बस्ने ती युवतीको तर्फबाट प्रहरीमा दिएको जाहेरीअनुसार घरबाट पसल गएकी उनलाई सन्तकुमार यादवले सिद्धबाबा मन्दिर लगेर औषधि मिसाएको पानी खान दिई अर्धबेहोस बनाई देवीनगरस्थित एउटा घरमा लगी बन्धक बनाएर सामूहिक बलात्कार भएको उल्लेख छ।

जाहेरीमा सन्तकुमार र उनका साथी राजेश्वर चौधरीले बलात्कार गरेको र गाउँपालिका अध्यक्ष चौधरीले युवतीलाई बन्धक बनाएको कोठामा गई उनको हात समाएर गालीगलौज गर्ने र यो कुरा कसैलाई भने मारिदिने धम्की दिएको उल्लेख छ।

प्रहरीले यो घटनामा सन्तकुमारलाई मात्र पक्राउ गरेर मुद्दा दायर गरेपछि उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। घटनामा संलग्न कमलेश र राजेश्वरमाथि अनुसन्धान नगरेको भन्दै पीडितका बुबाले गत फागुन २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका थिए।

चौधरीविरूद्ध रूपन्देही जिल्ला अदालतले बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा गत जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुद्दा दर्ता भएसँगै गाउँपालिका अध्यक्ष चौधरीको पद जोखिममा परेको छ। यद्यपि, उनले आफू निर्दोष रहेको दाबी गर्दै कानुनी प्रक्रियामा जाने बताएका छन्।

चौधरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट २०७९ को निर्वाचनमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। चौधरीविरूद्ध यसअघि युवतीमाथि सामूहिक बलात्कार गरेको वडा प्रहरी कार्यालय बुटवलमा गत पुस २० गते जाहेरी परेको थियो।

सम्बन्धित खबर