केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको हो।

सर्वोच्च अदालतमा ओलीको रिट न्यायाधीश मेघराज पोखरेल र लेखकको रिट कुमार रेग्मीको इजलासमा परेको बताइएको छ । दुवै नेताको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै उनीहरूको तर्फबाट सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरिएको थियो।

ओलीका हकमा उनकी पत्नी राधिका शाक्यले निवेदन दिएकी थिइन् भने लेखकको पक्षबाट पनि समान प्रकृतिको रिट दर्ता गरिएको छ। रिटमा उनीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी नियन्त्रणमा लिएको आरोप लगाउँदै तत्काल रिहा गर्न माग गरिएको छ।

यसअघि गत चैत १५ गते केपी शर्मा ओली र रमेश लेखक लाई ‘जेन-जे’ आन्दोलन दमनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। उक्त आन्दोलनका क्रममा भएको मानवीय क्षतिसम्बन्धी छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

यता प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उक्त गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै विरोध जनाएको छ। ओली पक्षका कानुन व्यवसायीहरूले भने पक्राउ प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै अदालतमा चुनौती दिएका छन्।

आजको सुनुवाइले गिरफ्तारीको वैधानिकता सम्बन्धमा प्रारम्भिक निर्णय गर्ने अपेक्षा गरिएको छ। अदालतले आवश्यक ठाने अन्तरिम आदेश जारी गर्दै रिहा वा थप हिरासतबारे निर्देशन दिन सक्नेछ।

यस मुद्दालाई पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।

सिफारिस