काठमाडौं । बालिकालाई ६ वर्षसम्म बन्धक बनाएर यातना दिँदै श्रमशोषण गर्ने एमाले प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शर्मामाथि नाबालिकालाई घरमा राखेर बालश्रम गराएको, कुटपिट तथा शोषण गरेको आरोप छ। सोही आरोपमा बालबालिका सम्बन्धी कानुनअन्तर्गत अनुसन्धान अघि बढाइएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखी अत्यधिक काममा लगाउने गरेको, ती नाबालिकालाई लामो समयसम्म घरेलु काममा लगाइएको, शारीरिक दुर्व्यवहार गरिएको र परिवारसँग सम्पर्क गर्न नदिएको आरोप लागेको छ। गुनासोका आधारमा उनलाई महानगरले १४ जेठमा उद्धार गरेको थियो ।
यस घटनापछि पीडित बालिकाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो भने तत्कालिन सरकार र महान्यायाधिवक्ता रमेश बडालले शर्मालाई मुद्दा नचलाउने गरी उन्मुक्ति दिएका थिए ।