
काठमाडौँ । तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन गडगडीघाट पक्की पुल नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। ऋषिङ गाउँपालिका र बुलिङटार गाउँपालिकालाई जोड्ने उक्त पुल ठेकेदारको लापरबाहीका कारण समयमै सम्पन्न हुन नसकेको हो।
कुल २६ करोड ८२ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको २२० मिटर लामो पुलको ठेक्का २०७३ असार २९ गते लुम्बिनी बिल्डर्स-नागार्जुन-स्वच्छन्द जेभीसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०७७ वैशाख २८ गतेभित्र काम सम्पन्न हुनुपर्ने भए पनि पटक-पटक म्याद थप्दा पनि पुल निर्माण अधुरै रहेको छ। अन्तिम पटक थपिएको म्याद २०८२ चैत ७ गते सकिँदा समेत भौतिक प्रगति निराशाजनक रहेको बताइएको छ।
निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन्। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार ठेकेदारले समयमा काम नगर्दा आयोजना अलपत्र परेको हो। बारम्बार ताकेता गरेपछि मात्रै केही मजदुर परिचालन गरिएको श्रेष्ठले जानकारी दिए।
यसैबीच, पुल महाशाखा पोखरामा पुगेर कामलाई तीव्रता दिन र लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन दबाब दिइएको पनि उनले बताए।
पुल सेक्टर कार्यालय पोखराका अनुसार जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीबीच समन्वयको अभाव र कार्यक्षेत्रमा पर्याप्त ध्यान नदिँदा निर्माण कार्यमा ढिलाइ भएको हो। पुल निर्माणका लागि आवश्यक ६ वटा पिलरमध्ये हालसम्म ५ वटा मात्रै निर्माण सम्पन्न भएका छन् भने एक पिलरको काम अझै बाँकी छ। त्यस्तै, एक स्पानको ढलान सम्पन्न भए पनि बाँकी दुई स्पानको काम प्रक्रियामै रहेको छ।
हिउँदमा केही काम गर्ने र वर्षा लागेपछि काम रोक्ने प्रवृत्तिले पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल थपिएको बताइएको छ।
पुल निर्माण सम्पन्न भएमा नवलपुरको सदरमुकाम कावासोती र दलदले क्षेत्रबाट तनहुँको भिमाद हुँदै प्रदेश राजधानी पोखरा पुग्ने दूरी करिब १५ किलोमिटर छोटो हुने अपेक्षा गरिएको छ।
ऋषिङ गाउँपालिकाका उपाध्यक्ष चिनुमाया थापाले नवलपुरलाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक मार्ग नै अलपत्र पर्दा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो धक्का पुगेको बताएकी छन्।