काठमाडौँ । प्रधानमन्त्री कार्यालयले समानुपातिक सांसदहरुलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले कर्णालीका सांसदहरूसँग छलफल गर्न बोलाएको कार्यक्रममा सहभागी हुन आएका समानुपातिक सांसदहरुलाई बैठकमा प्रवेश गर्न नदिई फर्काइएको हो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की समानुपातिक सांसद पार्वती बिकले आफुलाई बैठकमा बोलाएर प्रधानमन्त्री कार्यालयको गेटबाटै फर्काइएको गुनासो गरिन् । सांसद बिकले प्रधानमन्त्री कार्यालयले कर्णालीबाट निर्वाचित १२ जना प्रत्यक्ष सांसदहरूलाई मात्र बैठकमा प्रवेश गराइएको जानकारी दिइन् ।
बैठकबारे कर्णालीका एक सांसदले जानकारी गराएपछि उनी समयमै प्रधानमन्त्री कार्यालय पुगेकी थिइन्। तर गेटमै सुरक्षाकर्मीले रोकेर सूचीमा नाम नभएको भन्दै प्रवेश नदिएको उनले बताइन्।
‘सबै सांसदहरूलाई देखेपछि अन्य माननीयज्यूहरूले खबर गर्नुभयो, त्यसपछि म पुगेँ। त्यहाँ पुग्दा अन्य केही समानुपातिक सांसदहरू पनि फर्किइसकेको अवस्था थियो। मलाई पनि गेटमै रोकियो, प्रहरीसँग बहस गर्नु उपयुक्त ठानिनँ र फर्किएँ,’ उनले भनिन्।
यस घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै बिकले आफू सडकदेखि प्रधानमन्त्री कार्यालयको गेटसम्म अपमानित हुनुपरेको बताइन्। उनले निर्वाचित सांसदलाई नै बैठकमा सहभागी नगराउने र बोलाएर फर्काउने प्रवृत्ति गलत भएको टिप्पणी गरिन्।
बिकले नेपालको मिश्रित निर्वाचन प्रणालीप्रति ध्यानाकर्षण गराउँदै प्रत्यक्ष र समानुपातिक दुवै माध्यमबाट निर्वाचित सांसदहरू समान हैसियतका हुने स्पष्ट पारिन्। ‘६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणालीबाट सांसद चयन हुने व्यवस्था छ। प्रणाली फरक भए पनि शपथ खाइसकेपछि सबै सांसद बराबर हुन्’, उनले भनिन्।
उनले समानुपातिक सांसदलाई विभेद गर्नु दलित, सिमान्तकृत, पिछडिएको वर्ग र अल्पसंख्यकमाथिको प्रहार भएको आरोप लगाइन्। साथै, दलित समुदायसँग माफी माग्ने कुरा गर्ने तर निर्वाचित प्रतिनिधिलाई गेटमै रोकेर अपमान गर्ने व्यवहार विरोधाभासपूर्ण भएको उनको भनाइ छ।
कर्णाली प्रदेशबाट प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ चार महिलासहित पाँच जना सांसद सिफारिस भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका एक-एक जना समानुपातिक सांसद रहेका छन् ।
यस घटनाले समानुपातिक प्रणालीबाट आएका सांसदहरूको सम्मान र अधिकारबारे गम्भीर प्रश्न उठाएको छ।