
रौतहट । पटक–पटक मन्त्री बनेका पूर्वमन्त्री प्रभु साहले अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति छानबिनको माग गरिएको छ। विगतमा विभिन्न समयमा उनको सम्पत्ति छानबिन गर्ने भनिएपनि सत्ता र प्रभावका कारण अनुसन्धान हुन सकेको थिएन। नयाँ सरकार गठन भएसँगै यो विषय पुनः सार्वजनिक बहसको केन्द्रमा आएको हो।
हाल बालेन शाह नेतृत्वमा अगाडि बढाइएको उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण अभियानले देशभर ध्यान खिचेको छ। रौतहटका स्थानीय बासिन्दाहरूले वर्षौंदेखिको साहको सम्पत्ति छानबिन हुनु पर्ने माग गरेका छन् ।
पूर्वमन्त्री साहमाथि सत्ता र सरकारको प्रभावमा रहँदै अकूत सम्पत्ति आर्जन गरेको, आफन्त तथा नातेदारको नाममा ट्रस्ट र प्रतिष्ठान खोलेर सम्पत्ति लुकाएको, र ती संस्थाहरूलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको आरोप लाग्दै आएका छन् ।
साथै, अवैध आम्दानीलाई वैध देखाउन विभिन्न उपाय अपनाएको र कालो धन सफा गर्न राजनीतिक दल स्थापना गरेको आरोपसमेत सार्वजनिक रूपमा उठ्ने गरेको थियो ।
स्थानीय स्रोतका अनुसार, साहसँग सम्बन्धित केही ट्रस्ट तथा प्रतिष्ठानहरूको आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबारे विगतमा प्रश्न उठाइए पनि सम्बन्धित निकायबाट प्रभावकारी छानबिन हुन सकेको थिएन, जसले जनस्तरमा असन्तुष्टि बढाएको थियो।
विशेषज्ञ र नागरिकहरूले साहको सम्पत्तिको स्रोत, विस्तार र वैधानिकताबारे गहिरो अनुसन्धान आवश्यक रहेको बताउँदै आएको छन्। सरकारले उच्च पदमा रहेका व्यक्तिहरूमाथि निगरानी र शंकास्पद सम्पत्तिको छानबिन बढाउने संकेत दिएको छ। अभियान प्रभावकारी भएमा साहसहित अन्य विवादित व्यक्तिहरूमाथि पनि छानबिनको दायरा विस्तार हुने अपेक्षा गरिएको छ।