मन्त्री अधिकारीको अन्त्येष्टी पोखराको रामघाटमा आजै हुने

दियो पोस्ट  

काठमाडौं, फागुन १७ । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी कास्की स्थित पोखराको रामघाटमा हुने भएको छ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको पोखराको प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम हुनेछ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतका अनुसार काठमाडौँबाट शुक्रबार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने छ ।

अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मेका अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।