ह्वासिन् सिमेन्ट उद्योग बनाउन मलेखु खोला नै ‘कब्जा’, नेताकै समलग्नतामा ३ सय रोपनी खोला गायब !

दियो पोस्ट  

दियोपोस्ट ब्युरो


धादिङ, १७ फागुन । पृथ्वी राजमार्ग हुँदै धादिङको पुरानो मलेखु बजार नपुग्दै दायाँ तर्फ कच्ची सडक उक्लँदै थियौँ । हामीलाई १५ अर्ब लागत रहेको दक्षिण एसियाकै ठूलो भनिएको ह्वासिन सिमेन्ट नारायणी प्रा.लीको निर्माणाधिन उद्योगबारे रिपोर्टिङ गर्नु थियो ।

केहीबेरको कच्चि बाटो छिचोल्दै गर्दा अन्यौल भएपछि एक बटुवालाई सोध्यौँ । उनले बाटो देखाउँदै भने, ‘यो बाटो सिधै जानुस् । अर्चले भन्ने ठाउँबाट अलिकति माथि पुगेपछि खोलाबीचमा मेसिनको ठूल्ठूलो आवाज आउँछ । त्यहीँ नै सिमेन्ट उद्योग छ ।’

सडक बनाउँदै मजदुर


उनको ईशारालाई पछ्याउँदै १५ किलोमिटर निर्माणाधिन कच्ची सडक पार गरेपछि हामी ह्वासिन नारायणी सिमेन्ट उद्योग प्रा.लीको निर्माणस्थलमा पुग्यौँ । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा यो उद्योग निर्माण भइरहेको रहेछ ।

वारी श्री पिपलभञ्ज्याङ माध्यमिक विद्यालय र वडा नम्बर २ को वडा कार्यालय सहित ठूलो वस्ती नै रहेछ । पारी भने चेपाङ, ब्राम्हण र तामाङहरुको बस्ती ।

त्यही वस्तीको बीच भागबाट बहने ताल्ती खोलामा धमाधम डोजर, स्क्याभेटर लगायत ठूल्ठूला निर्माण सामग्रीका आवाज आइरहेका थिए । १ वर्षअघिसम्म छङछङ बहने यो नदिलाई मलेखु खोला पनि भनिन्छ । छङछङ भएर बहनु पर्ने मलेखु खोला अब इतिहास बन्ने भएको छ ।

यदि स्थानियले यस्तैगरी चुपचाप बसिरहे भने आगामी १८ महिना भित्र मलेखु खोला बीचमै दक्षिण एशियाकै ठूलो भनिएको ह्वासिन नारायणी सिमेन्टको उद्योग बन्ने छ । यो उद्योग बनेसँँगै मलेखु खोला भने भावि पुस्ताका लागि एउटा इतिहास बन्दैछ ।


‘हामीले पढ्दा एकदमै डिस्टर्ब हुन्छ । मैले सरले पढाउनु भएको केही सुन्न सकीरहेकी छैन,’ श्री पिपलभञ्ज्याङ माध्यमिक विद्यालयमा पढ्दै आएकी रञ्जु मगरले भनिन्,‘सरहरुलाई भनेर पनि केही हुँदैन । सबै गरेर हामी ५ सय भन्दा बढी विद्यार्थीको पढाईमा प्रत्यक्ष प्रभाव परेको छ ।’
यसरी विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्दै निर्माण भइरहेको यो सिमेन्ट उद्योगले उक्त क्षेत्रको जनतामाथि भविष्यमा ठूलो असर पार्ने देखिएको छ ।


२०४१ सालमा मलेखुको ठूलो पुल नै भत्काउने गरी बाढी आएको ताल्ती खोला नै कब्जा गरेर उद्योग निर्माण भइरहेको छ ।


चिनिया कम्पनि हवासिन सिमेन्टको ८० प्रतिशत र नेपाली उद्योगी सुरज बैद्यको २० प्रतिशत सेयर साझेदारी रहेको ह्वासिन नारायणी सिमेन्ट प्रा.लीले खोलाको अस्तित्व नै मेटाएर उद्योग निर्माण गरिरहेको छ ।


सो क्षेत्रका संघीय सांसद भूमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी ‘हरि’को मिलेमतोमा खोलाको अस्तित्व नै मेटाउने गरी उद्योग निर्माण भइरहेको छ ।


स्रोतका अनुसार नेकपाका यी नेताहरुको समुहले उक्त क्षेत्रका जनतासँग क्रसर सञ्चालन गर्न भन्दै प्रति रोपनी ४० हजारका दरले जग्गा खरिद गरेका थिए । तर, जनतासँग ४० हजार रुपैयाँ प्रतिरोपनीमा जग्गा किनेर हवासिन नारायणी सिमेन्टलाई भने प्रति रोपनी १० लाख रुपैयाँसम्ममा विक्री गरिएको थियो ।

गुगलबाट खिचिएकाे मलेखु खाेलाकाे तस्विर


बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टंक थापाका अनुसार ताल्ती खोलाको ३ सय रोपनी जग्गा सिमेन्ट उद्योगले प्रयोग गरेको छ । ओइलानी जग्गालाई समेत व्यक्तिको बनाएर बेचविखन गरिएको समेत एक स्थानियले बताए ।

खोलामा सिमेन्ट उद्योग, जनतालाई शुन्य शेयर !


वडाध्यक्ष थापाका अनुसार यो क्षेत्रका जनतालाई रोजगारी दिने सहमति भएपनि यो शेयर भने चिनिया कम्पनि र उद्योगी सुरज बैद्यको मात्रै हुनेछ । ‘यो सरकारी खोलामा बनाइएको उद्योगले हाम्रो सिँचाई हुने खेत अब खण्डहर बन्दैछ । उद्योग निर्माणपछि हामीले यहाँ प्रदुषणले खाना समेत खानसक्ने अवस्था हुनेछैन,’ ताल्तीका स्थानिय एक शिक्षक भन्छन्,‘खोलामा उद्योग खडा गरेर हामीलाई यहाँबाट सुकुम्बासी बनाउने स्थिति आएको छ ।’


उद्योगले सबैभन्दा धेरै फाइदा नेतालाई


सिमेन्ट उद्योगबाट निष्कने धुलो मानव शरीरका लागि सबैभन्दा घातक हुन्छ । उद्योग वरपरका पशुचौपायँलाई समेत गम्भिर असर पर्ने विज्ञहरुको दाबी छ । तर, यो उद्योगबाट सबैभन्दा धेरै फाइदा त्यही क्षेत्रका नेताले लिइरहेका छन् ।

स्रोतका अनुसार वडाध्यक्ष टंक थापका छोरा तुल्सीजंग थापा, भूमि त्रिपाठीको भतिजो सन्देश त्रिपाठी, गाउँपालिका अध्यक्ष हरी डल्लाकोटीका भाई राम कुमार डल्लाकोटीको मिलेमतोमा जग्गा सस्तोमा लिने र महँगोमा बेच्ने खेल भएको थियो । नेताहरुले आफू नदेखिने गरी आफ्ना आफन्तलाई उक्त उद्योगमा सेटिङ मिलाएका छन् । ताल्ती खोलाकै दोभान नजिकै त्रिपाठीको क्रसर छ ।

क्रसरले केही दिन अघि अवैध रुपमा नदिबाट बालुवा निकाली रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले डोजरको चाबी कब्जा गरेको थियो । तर, केही बेरमै ठूला नेताको दबावमा डोजरको चाबी फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई बाध्य पारिएको क्रसर व्यावसायी नै बताउँछन् ।


स्थानियका अनुसार सिमेन्ट उद्योगमा गाउँपालिका अध्यक्ष हरी डल्लाकोटीले ४ वटा स्क्याभेटर प्रयोग गरेका छन् । यता सांसद भूमि त्रिपाठीले भने भतिजो सन्देश त्रिपाठीलाई चुनढुङ्गा खानीको सेटिङ मिलाउन लगाएका छन् ।


वडाध्यक्षको छोरालाई जागिर !


बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हुन् टंक थापा । उनका अनुसार ४० हजार रोपनीमा क्रसरका लागि भनेर किनिएको जग्गा १० लाख रुपैयाँ सम्म विक्री गरिएको छ ।

खोलामा उद्योग स्थापना गर्न सिफारिस गरेबापत उनले आफ्ना छोरा तुल्सीजंग थापालाई जागिर लगाएका छन् । यसअघि सोही उद्योग नजिकैको पिपलभञ्ज्याङ माध्यमिक विद्यालयमा शिक्षकको रुपमा काम गरिरहेका थापा उद्योग आउने भएपछि जागिर छोडेर यता लागेका थिए । अहिले उनी ‘प्रोजेक्ट’को स्थानिय हर्ताकर्ता हुन् ।


जग्गा किनबेचमा करोडौँ खेल !


स्थानिय बासीसँग वडाध्यक्ष टंक थापाले क्रसरका लागि भन्दै प्रति रोपनी ५० हजार रुपैयाँका दरले १९ रोपनी जग्गा किनेका थिए । सोही जग्गा उद्योगलाई भने १० लाख रुपैयाँ प्रति रोपनीका दरले बेचेको उनले स्विकार गरे । ‘हामीले ५० हजार रुपैयाँ रोपनीमा जग्गा किन्यौँ । ५० हजारदेखि १ लाखसम्म रोपनीमा चलेको थियो,’ उनले भने,‘हामीले कम्पनिलाई १९ रोपनी जग्गा बेचेको हो ।’


याे पनि पढ्नुहाेस्


पत्रकारमाथि दुर्व्यबहारमा उत्रिए वडाध्यक्षका छोरा तुल्सि थापा : समाचार लेखेको भन्दै अपशब्द