काठमाडौं, फागुन १८ । ललितपुर जिल्ला अदालतले ललितपुरको गोदामचौर बलात्कार घटनाका तिनैजना अभियुक्तलाई १० वर्षको जेल सजाय फैसला गरेको छ । अदालतका न्यायाधिश धनसिंह महराको ईजलासले अभियुक्तहरु रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै १० जेल सजाय फैसला गरेको हो ।
तिनै जनालाई बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीको मुद्दामा ६० दिन जेल सजाय सुनाईएको भएपनि एकैचोटी ५ भन्दा कम मुद्दाको फैसला भएमा सबैभन्दा धेरै सजाय मात्रै हुने भएकोले १० वर्षको जेल सजाय सुनाईएको अदालतका श्रेस्तेदार चक्रप्रकाश तिवारीले जानकारी दिए । ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोगमा उनीहरुलाई जनही १ लाख रुपैयाँ पीडीतलाई क्षतिपुर्ती भराउने फैसला पनि अदालतले गरेको छ ।
२०७४ साल मंसिरमा गोदावरी नगरपालिका १ गोदामचौरमा २१ वर्षकी युवतिलाई बलात्कार गरि मार्ने उदेश्यले टाउकोमा ढुँगाले हानेर बेहोस बनाएको र पीडीतको साथमा रहेका सामग्री पनि अभियुक्तले चोरेर भागेको ललितपुर अदालतले ठहर गरेको हो ।