सरकारी निकायमा अख्तियार आतंकः बाँकेमा ८७ हजार घुससहित अधिकृत र सुब्बा पक्राउ

दियो पोस्ट  

काठमाडौँ, फागुन २२ । अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले बाँकेका २ जना सरकारी कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको छ । बाँकेको नेपालगंज स्थित क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका अधिकृत विनोदकुमार श्रीवास्तव र नेपालगंज भन्सार कार्यलयका नायव सुब्बा लक्ष्मण चन्दलाई घुससहित पक्राउ गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका अधिकृत श्रीवास्तवले खाद्य गुणस्तर प्रमाणीकरण (ल्याव टेस्ट) गर्ने कार्यमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसंग ३५ हजार घुस लिएका थिए । त्यस्तै नेपालगंज भन्सार कार्यलयका नायब सुब्बा लक्ष्मण चन्दले प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार पासमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहसंग ५२ हजार घुस लिएको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले छानविनको लागि खटिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यलय बुटवलबाट खटिएको टोलीले खाद्य अनुसन्धान अधिकृत श्रीवास्तवलाइ नेपालगंज नगरपालिका ८ स्थित सब्जिमण्डी सडकबाट नियन्त्रणमा लिएको हो भने भन्सार कार्यलयका सुब्बा चन्दलाई कार्यकक्षबाटै घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै कर्मचारीहरुको अनु्सन्धान प्रक्रिया अगाडी बढेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।