तीन बर्षपछि सात प्रहरी र एक नावालकको न्याय , यस्तो थियो विभत्समय टीकापुर काण्ड !

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन २२ । टीकापुर हत्याकाण्डको मुख्य दोषी ठहर गर्दै सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । गत पुष महिनामा डिल्लीबजार कारागारबाट सिंहदरबार पुर्याई सपथ ग्रहण गराइएको दुई महिना नपुग्दै सांसद पद खारेज भएको हो । उनलाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा राखिएको थियो ।

सपथ ग्रहणको क्रममा चौधरीले आफु निर्दोष रहेको र चाँडै नै कानुनले पनि निर्दोष ठहर गर्नेमा आफु विश्वस्त भएको र आफ्ना मतदाताहरुलाई पनि विश्वस्त हुनका लागि आग्रह गरेका थिए । चौधरीलाई सांसदको सपथ खुवाउनको लागि राजपा नेपालले महत्वपुर्ण भुमिका खेलेको थियो । राजपाले रेशम चौधरीलाई रिहा गर्नुपर्ने र तत्काल सांसदको सपथ खुवाउनुपर्ने नत्र सरकार समर्थन फिर्ता लिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्ल्याकमेलिङ गरेको थियो । प्रधानमन्त्रीकै निर्देशनमा डिल्लीबजार कारागारमा भएका चौधरीलाई सिंहदरबार पुर्याइ सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराएका थिए । सपथ पछि निलम्वित सांसदको रुपमा चौधरीलाई पुनः डिल्लीबजार कारागार नै पुर्याइएको थियो ।

टीकापुर हत्याकाण्डमा मुख्य दोषी देखाउँदै जिल्ला अदालत कैलालीका न्यायधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई सजाय सुनाएको थियो । जन्मकैदको सजाय तोकिएपछि उनको निलम्वित सांसदको पदसमेत खारेज भएको छ । संघिय संसदका अनुसार आपराधिक गतिविधिमा संलग्न भएको ब्यक्तिले सार्वजनिक पद धारणा गर्न नसक्ने प्रावधान अनुसार निलम्वित सांसद चौधरीको पद स्वतः खारेज भएको हो ।

चौधरीलाई जन्मकैदको सजाए सुनाइएपछि राजपा नेपालको आकस्मिक वैठक बसेको छ ।
राजधानीको बबरमहलमा बसेको वैठकले सांसद चौधरीलाई जन्मकैदको सजाए सुनाइनु अन्यायमाथिको पनि अन्याय भएको भन्दै सो सजाय मान्य नहुने निर्णय गरेको छ । राजपाले चौधरीलाई जेल पठाइए राष्ट्रिय विद्रोह समेत गर्ने घोषणा गरेको छ ।

के हो टीकापुर घटना ?

तीन बर्षअगाडी २०७२ सालको भदौ महिनाको ७ गते कैलालीको टीकापुर शहरमा निकै नै कहालीलाग्दो घटना घटेको थियो । अखण्ड सुदुरपश्चिम र थरुहट आन्दोलनमा ८ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो । आन्दोलन लाई नियन्त्रणमा लिनका लागि ड्यूटीमा खटिएकमा एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक बलराम बिष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खड्का, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी मारिएका थिए। त्यसबेला घाइते भएका प्रहरी हवल्दार जनक नेगीको पछि उपचारका क्रममा निधन भएको थियो।

तात्कालिन समयमा अखण्ड सुदूरपश्चिम पक्षधर सो विकास क्षेत्र अन्तर्गतका ९ जिल्ला एउटै प्रदेशमा राख्नुपर्ने माग राखि आन्दोलनमा उत्रिएका थिए भने कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै थारु समुदाय पनि आन्दोलित थिए।

आन्दोलनमा कैयौँ सर्वसाधारणसमेत घाइते भएका थिए । निर्दोष बच्चा र प्रहरीको उच्च अधिकारीहरु नै मारिएपछि टीकापुरमा निकै नै तनाव सिर्जना भएको थियो । सरकारले सुरक्षाकर्मीको परिचालन गरि कफ्र्यू आह्वान गरेको थियो । घटनामा ८५ घर जलाइएको थियो । यसबाट स्थानिय थारुहरु घरवारविहीन भएभने विभिन्न लुटपाट र हिंसाले ठुलो रुप लिएको थियो ।

रेशम चौधरी थारु आन्दोलनको केन्द्रीय आन्दोलनको नेतृत्व गरेको थारू कल्याणकारिणी सभाको टीकापुर संघर्ष समितिका संयोजक थि, । उनी टीकापुरस्थित फुलबारी एफएमका सञ्चालक पनि थिए। उनैले आफ्नो पार्टी सद्भावनाका अध्यक्ष राजेन्द्र महतो सहित फोरम अध्यक्ष उपेन्द्र यादव तथा कांग्रेस सांसद अमरेशकुमार सिंहलाई साउन २८ गते टीकापुर बोलाएका थिए। उनीहरुकै भाषणले टीकापुरमा आक्रोश बढेको बताइन्छ।

थरुहट र अखण्ड दुवैको आन्दोलन चलिरहेको अवस्थामा अखण्ड पक्षधरको मात्रै माग सुनुवाइ हुनेगरि भदौ ४ गते सेती र महाकाली अञ्चलका सबै जिल्ला एउटैमा राख्ने गरी सातौं प्रदेश प्रस्तावित गरियो। थारू समुदाय आक्रोश थपियो।

प्रस्तावकै खुसियालीमा अखण्ड पक्षधरले भने मोटरसाइकल र्‍याली निकाल्यो। तर, थारु पक्षले ठाउँ–ठाउँमा अवरोध गरिदिए। त्यसलाई खुलाउन प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो। स्थिति तनावग्रस्त बन्यो

भोलिपल्ट भदौ ५ गते अखण्ड पक्षधरले टीकापुरमा सभा र शक्तिप्रदर्शन गर्ने कार्यक्रम गर्न सकेन।भदौ ६ गते संविधानसभामा सातौं प्रदेशसहितको संविधानको विधेयक दर्ता गरियो। थारू अगुवाहरूमा आफ्ना माग नहुने बुझे। आक्रोश बढ्यो।

भदौ ७ गते निषेधाज्ञा तोडेरै भए पनि टीकापुरस्थित सरकारी कार्यालयहरूका बोर्डमा ‘थरुहट स्वायत्त प्रदेश’ लेख्ने निर्देशन जारी गर्‍यो थारू कल्याणकारिणी सभाले। गाउँगाउँबाट हजारौंको भीड टीकापुर ओइरियो।

अघिल्लो साँझ प्रहरी गणमा रेशम चौधरीसहित थारू अगुवाहरूसमेतले प्रदर्शन शान्तिपूर्वक हुने प्रतिबद्धता जनाएका थिए। जसका कारण प्रदर्शन शान्तिपूर्वक नै हुने आकलन प्रहरीले गरेको थियो।

तर आँकलन गरिएविपरित प्रहरी अधिकारी माथि आक्रमण गरि हत्या भएको थियो । सोही घटनाको मुख्य अभियुक्तको रुपमा चौधरीलाई तीन बर्षदेखि हिरासतमा राखिएको थियो ।

को हुन् रेशम चौधरी ?


काठमाडौंको आरआर क्याम्पसमा अनेरास्ववियु वाट स्ववियु सदस्य बनेका रेशम चौधरीले कलाकार, खेलाडी, पत्रकार र राजनीतिकर्मीको भूमिका निर्वाह गरेका छन् ।  चौधरीले पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा उम्मेदवारी दिएका थिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले एक हजार ८३ मत प्राप्त गरेका थिए । दोस्रो संविधानसभामा उनी राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीबाट कैलाली १ र ३ बाट उम्मेदवार बने तर पराजित भए । त्यसपछि उनी सोही पार्टीको केन्द्रीय सदस्य भए ।

आरआर क्याम्पसमा अध्ययन गर्ने बेला अनेरास्ववियुका प्रारम्भिक कमिटीमा बसेर राजनीति थालेका उनी ०५४ सालमा एमाले पार्टी विभाजनपछि मालेमा लागेका थिए । करातेका खेलाडी उनले काठमाडौंमा हुँदा सैनिकका छोराछोरीलाई कराते प्रशिक्षण पनि दिए । संगीतकार रहेका उनले तत्कालीन प्रधानसेनापती प्रज्वलशमशेर जबराकी पत्नी सिन्धु राणाको एल्बममा संगीत गरेपछि उनको सम्बन्ध जबरासँग पनि भयो ।

यही सिलसिलामा उनी राजदरबारसँग पनि नजिक भए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीका लागि आवेदन मागेका बेला चौधरीले पनि आवेदन दर्ता गराएका थिए । उनले सगरमाथा एफएमलगायतमा प्रस्तोताको रुपमा काम पनि गरे । बाढीपहिरो प्रभावितलाई राहत बाँड्न तत्कालीन राजा ज्ञानेन्द्र सुदूरपश्चिमको भ्रमणमा आएका बेला चौधरीले टीकापुरमा उनको स्वागतमा भव्य समारोह अयोजना गरेका थिए ।

उनले थारु उत्थान मञ्च नामक गैरसरकारी संस्था दर्ता गराएका थिए । यो संस्थाको उदयसँगै उनले भारतीय दूतावाससँग सम्बन्ध बढाए । यो संस्थाबाट विभिन्न कार्यक्रम आयोजना गरेर भारतीय दूतावासका पदाधिकारी र राजदूतलाई कैलालीमा बोलाउन थाले । उनले भारतीय राजदूत राकेश सुदलाई टीकापुरमा बोलाएर स्वागत गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस