काठमाडौँ, फागुन २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि संचालन गरेको भन्दै प्रहरीले सर्च अपरेशन चलाएको छ । पार्टीको नेतृत्व गरिरहेको विप्लवकै गाउँबाट प्रहरीले सर्च अपरेशन चलाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ मा जिल्ला प्रहरी कार्यलयबाट खटिएका प्रहरी अधिकारीहरुले सर्च अपरेशन थालेपछि विप्लवका कार्यकर्ता र सर्वसाधारणमा आतंक मच्चिएको छ ।
सर्च अपरेशन गर्दै गर्दा स्थानियहरु प्रतिकारमा उत्रिएपछि दुईजना प्रहरी अधिकारीहरु समेत घाइते भएका छन् । सशस्त्र प्रहरी परिचालन गरि चलाइएको सर्च अपरेशन विप्लवका कार्यकर्ता यादव चन्दको घरबाट शुरु गरिएको थियो । प्रहरीले विशेष सुराकीको आधारमा यादव चन्दको घरमा छापा मारेको बताएको छ । यादव महासचिव विप्लवका भतिजोसमेत रहेको स्रोतले बताएको छ ।
खानतलासमा एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद भएको प्रहरीले जनाएको छ ।
सर्च अभियानमा अत्याधुनिक हातहतियार नियन्त्रण लिएपछि एक स्थानीय भागेका थिए । उनलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली समेत चलाएको छ । प्रहरीले चलाएको गोली लागेर भाग्दै गरेका स्थानीय दुर्गा बहादुर रोका घाइते भएका छन् । उनलाई लुम्विनि अंचल अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लवकै गाउँ भएकाले सो ठाउँमा कार्यकर्ताहरुले आफ्नो गतिविधि सक्रिय ढंगबाट संचालन गर्दै आएको र हिंसात्मक घटनामा विप्लवका कार्यकर्ताको सहभागित देखिन आएपछि प्रहरीले सर्च अपरेशन चलाएको बताइएको छ ।
गत फागुन १० गते ललितपुरको नख्खुमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लक्षित गरी चन्द कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो। दुई घाइते भएका थिए। घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं गृहमन्त्री रामबहादुर थापा सो समूहप्रति सुरक्षा कारवाहीको निष्कर्षमा पुगेका हुन्।
यसअघि प्रदेश १ प्रहरीले १५ फागुन २०७५ मा एक–एक थान एलएमजी र एम–१६ राईफल सहित देवकुमार लिम्बुलाई पक्राउ गरेको थियो। नख्खु बम बिस्फोटका मुख्य योजनाकार सूर्य भुजेल पक्राउ गरेको थियो। माओवादी सशस्त्र द्वन्द्वको एउटा समूह वैधानिक राजनीतिप्रति अरुचि देखाउँदै हिंसामा उत्रिएपछि त्यसप्रति सरकार कठोर देखिएको हो। उनीहरुका नेता, कार्यकर्ता पक्राउलाई तीब्रता दिन सरकारले प्रहरीलाई निर्देशन दिएको छ।