
चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ।
अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै ह्वावेईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्याएको छ।
अमेरिकाले आफ्ना राष्ट्रिय सुरक्षाबारे चासो रहेको भन्दै ह्वावेईको उत्पादनहरूमाथि प्रतिबन्ध लगाएको थियो।
उसले आफ्ना साझेदारहरूसँग ह्वावेईलाई एक्ल्याउनेबारे पहल गरिरहेको छ।
ह्वावेई विश्वको एउटा प्रमुख दूरसञ्चार उपकरण र सेवा प्रदायक कम्पनी हो।
ह्वावेई विश्वको एउटा प्रमुख दूरसञ्चार उपकरण र सेवा प्रदायक कम्पनी हो।
आफूविरुद्ध लागेका आरोपको खण्डन गर्दै ह्वावेईले कानुनी उपचार खोज्ने बाटको रोजेको हो।
“अमेरिकी संसद् ह्वावेईका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने कारण बताउन पटकपटक विफल भएको छ। जसका कारण अन्तिम उपायको रूपमा कानुनी प्रक्रियामा जान हामी बाध्य भयौँ,” ह्वावेईका अध्यक्ष गु पिङले बताए।
“त्यो प्रतिबन्ध गैरकानुनी मात्र छैन यसले ह्वावेईलाई निष्पक्ष प्रतिस्पर्धामा संलग्न हुनबाट समेत रोकेको छ। र, त्यसको सबैभन्दा बढी असर अन्तत: अमेरिकी सेवाग्राहीहरूलाई नै पर्नेछ।”
ह्वावेईले संविधानको राष्ट्रिय प्रतिरक्षा ऐनअन्तर्गत रहेको एउटा व्यवस्थालाई चुनौती दिएको छ।
उक्त मुद्दा टेक्ससस्थित अमेरिकी सङ्घीय अदालतमा दायर गरिएको छ।
एउटा विज्ञप्तिमा ह्वावेईले आफ्नो कम्पनीमा चिनियाँ सरकारको ‘स्वामित्व, नियन्त्रण वा प्रभाव’ केही नरहेको उल्लेख गरेको थियो।
अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका थुप्रै देशले सुरक्षा कारण बताउँदै आफ्ना दूरसञ्चार कम्पनीहरूलाई ‘फाइभ जी’ सञ्जालमा ह्वावेईका उपकरण प्रयोग गर्न रोक लगाएका छन्।
अमेरिकाले ह्वावेई र उसकी वरिष्ठ अधिकारी मङ वान्जूमाथि आपराधिक अभियोगहरू समेत लगाएको छ।
ह्वावेईका संस्थापक रेन जेङ्फीकी छोरी वान्जू वाशिङ्टनको आग्रहमा गत वर्ष डिसेम्बरमा क्यानडामा पक्राउ परेकी थिइन्।
उनीविरुद्ध ब्याङ्क खाता हिनामिनादेखि इरानविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध हुने कामहरू गरेको अभियोग छन्।