सिके राउतले बिखण्डनको राजनिति छाड्ने, प्रधानमन्त्री ओलीसँगै एउटै मञ्चबाट सम्बोधन

दियो पोस्ट  

स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।

राउतले देश टुक्र्याउने अभियान त्याग्ने घोषणा प्रधानमन्त्री केपी ओली उपस्थित हुने कार्यक्रममा गर्ने भएका हुन् । 

तराई मधेसमा अलग्गै राज्यका लागि आन्दोलनरत सिके राउतले विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने पुष्टि उनका सहयोगी डा. विनय पञ्जियारले पनि गरेका छन् । सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।

सिके राउतले तराई मधेसमा स्वतन्त्र राज्यको माग छाड्दै मुलधारको राजनीतिमा आउने घोषणा कार्यक्रम शुक्रबारै दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवैले सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि राष्ट्रिय सभा गृहबाट सिके राउतसँगै प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने कुराको पुष्टि गरेको छ । 

देश विखण्डनको अभियोगमा पटक पटक पक्राउ पर्दै आएका राउतलाई यो पटक पनि सरकारले पक्राउ गरेर केन्द्रीय कारागारमा थुनेको थियो । राउत कारागरामै रहेका समयमा सरकार र उनको पक्षसँग पटक पटक वार्ता भएको खुलेको छ । राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।