काठमाडौं, फागुन २६ । भेनेजुएलामा राष्ट्रपति निकोलास मदुरो र विपक्षी नेता ह्वान ग्वाइदोका आह्वानमा परस्पर विरोधी प्रदर्शनहरु चर्किएका छन्।
बिहीवारदेखि देशका थुप्रै भागमा विद्युत आपुर्तिमा कटौती भएपछि विपक्षीले प्रदर्शन चर्काएका हुन्।
शनिवार दुईथरी प्रदर्शन भइरहँदा राजधानी कराकासका सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
थुप्रै विपक्षी प्रदर्शनकारीले प्रहरी दबावको सामना गर्दै उनीहरुलाई ‘हत्यारा’ भन्दै चिच्याएका थिए।
त्यतिखेर प्रहरीले उनीहरुतर्फ पिरो हुने अश्रु ग्याँस प्रहार गरेको थियो।
सोही सभालाई सम्बोधन गर्दै विपक्षी नेता ह्वान ग्वाइदोले ‘छिट्टै राजधानीमा आयोजना गरिने ठूलो सभा’का लागि समर्थन जुटाउन देशव्यापी भ्रमणमा जाने बताए।
उनले भने, “हामी पूरै भेनेजुएला कराकासमा हुनेछौं किनभने अब हामी सबै एकजुट हुन आवश्यक छ।”
उता राष्ट्रपति निकोलास मदुरोले भने आफ्नो सरकारप्रति बफादार रहेको भन्दै त्यहाँको सेनाको प्रशंसा गरे।
राष्ट्रपति कार्यालय बाहिर जम्मा भएका समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा उनले ग्वाइदोलाई ‘चटकी’ र ‘अमेरिकाको कठपुतली’ भएको आरोप लगाए।
भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले बताएको छ।
त्यहाँको महँगी धेरै गुणा बढेको छ। जसकै कारण पेट्रोलियम पदार्थमा धनी देश भईकन पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।
तर मदुरोले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्। मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरू छन्।
आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित ५० भन्दा बढीले मान्यता दिएका छन्। बीबीसीबाट