‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण’मा धुर्मुसलाई दिनेश तामाङको साथ

दियो पोस्ट  

काठमाडौं, २५ फागुन । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा सामाजिक अभियान्ता दिनेश तामाङ पनि जोडिएका छन् ।


धादिङको ढोला ५ नयाँ वस्तिमा ५५ परिवारका लागि भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गरेर चर्चामा आएका तामाङलाई अभियानमा जोडेको कलाकार सिताराम कट्टेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।


भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेसन सँग सम्झौता गरी चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो ।


रंगशाला निर्माणका लागि कलाकार सिताराम कट्टेल धुर्मुस र उनकी श्रीमती कुञ्जना घिमिरे सुन्तली देश तथा विदेशमा सहयोग उठाउने अभियानमा छन् ।

अभियानता तामाङले रंगशाला निर्माण अभियान राष्ट्रका निम्ती भएकाले आफू सहयोग गर्न लागि परेको बताए ।
‘राष्ट्रको निम्ति र तपाईं हाम्रै निम्ति एउटा विश्वमै उत्कृष्ट तथा नमुना कामको थालनी भएको छ । यो कुनै व्यक्ति मात्रै नाम र ईज्जतको लागि होइन । तमाम प्रतिभावान नेपाली खेलाडी उत्पादन गरि विश्वमा नेपाललाई चिनाउने महान लक्ष्य राखिएको छ । यो अभियानलाई सहयोग पुर्याउनु हरेक नेपालीको दायित्व हो ।’
नागरिक नायक तथा सामाजिक अभियान्ता तामाङले विश्व भर छरिएर रहेका सबै नागरिकलाई सहयोग गर्न आह्वान समेत गरे ।