चारसय विद्रोहीद्वारा आत्मसमर्पण

दियो पोस्ट  

एनजमिना, चाद,फागुन २७ । लिवियामा चादेली विद्रोही समूहका ४०० लडाकूले आत्मसमर्पण गरी आफ्ना हतियार सरकारलाई बझाएका सोमबार चादका रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले एएफपीलाई बताउनुभएको छ ।

सन् १९९० मा विद्रोह गरी राष्ट्रपति बनेका इद्रिस देबाइले विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेमा उनीहरूलाई आम माफी दिनसकिने गत बर्षको मे महिनामा गरेको घोषणालाई मान्दै उनीहरू कानूनी दायरामा आएको मन्त्री ब्राहिमले बताउनुभयो ।

इुनियन अफ फोर्सेस फर डिमोक्रेसी एण्ड डेभलपमेन्ट ९यूएफडीडी० आवद्ध विद्रोहीले राष्ट्र प्रमुख र सरकारको आह्वान अनुसार चादको मुलधारको राजनीतिमा आउने इच्छा प्रकट गर्दै आफ्ना हतियार सरकारलाई बुझाएका हुन् ।

उहाँले भन्नुभयो, “विद्रोही लडाकूको उक्त समूह तीन दिन पहिले चादको उत्तरी क्षेत्रमा पुगी आत्मसमर्पण गरेका थिए ।”

राष्ट्रपतिले हत्या हिंसा त्यागेर मुलधार अर्थात् खुला राजनीतिमा आउने विद्रोहीलाई ससम्मान राज्यले स्वागत गर्ने बताउनुभएको थियो ।

यसैबीच उक्त समूहका प्रवक्ता महमत असिलेक हालताले एएफपीलाई भन्नुभयो, “विद्रोहीद्वारा सरकारसँग आत्मसमर्पण गरिएको भन्ने कुरा आधारहीन भएको बताउनुभयो ।” आत्मसमर्पण गरिएका भनिएका सबैजना आफ्नो समूह यूएफडीडीका सदस्य नभै सुन खानीमा काम गर्ने श्रमिक भएको असिलेकले दावी गरे ।

यूएफडीडीका नेता महमत नुरीले भन्नुभयो, “लिवियामा रहेका झण्डै एक हजार लडाकूमध्ये फेब्रुअरीको शुरूदेखि अहिलेसम्म मात्रै ८६ लडाकू चाद फर्केका हुन् । सरकारले ४०० लडाकूले आत्मसमर्पण गरेको भन्ने सवै सुन खानीमा काम गर्ने कामदार हुन् ।”

चादको तिवेस्ती सीमा क्षेत्रमा सुन खानी भेटिएपछि केही क्षेत्रमा सन् २०१२ पछि हिंसा फैलिएको थियो । (रासस/एएफपी)